विराटनगरमा कोरोनाबाट थप दुई जनाको मृत्यु

  •  
  •  

विराटनगरमा कोरोना संक्रमणको कारण दुई जना मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

विराटनगर –१२ का ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजिटिभ आएका पुरुषलाई त्यही दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको जनाइएको छ । मृतकमा मधुमेहको पुरानै समस्या रहेको थियो ।

यस्तै विराटनगर –७ का ८६ वर्षीय वृद्धको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार९आज० बिहान ९ बजेतिर मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालले मृतकमा क्यान्सरको समस्या रहेको जानकारी दिएका छन् ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको उनको भनाइ छ।