मधुवनमा रहेको मोहन मावि वार्षिक करिव १२ लाख घाटामा

  •  
  •  

सुबिन विश्वकर्मा (बराहक्षेत्र)
बराहक्षेत्र नगरपालिका ११ स्थित मधुवनमा रहेको मोहन मावि वार्षिक १० देखि १२ लाख घाटामा रहेको बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले बराहखबरसँग कुरा गर्दै विद्यालयमा आन्तरिक खर्च धेरै भएपनि आम्दानीको स्रोत नहुँदा वार्षिक ऋण हुने गरेको बताए ।
‘विद्यालयमा आन्तरिक स्रोत छैन ।’ उनले भने, ‘तीन जना शिक्षक निजी स्रोतमा राख्दा मात्र उहाँहरुको तलब नै वार्षिक ४ लाख माथि खर्च हुन्छ ।’ उनका अनुसार मसलन्दमा ३५ हजारभन्दा माथि, विजुलीको बिल २५ हजार, विद्यालयमा हुने तालिम, गोष्ठी, वार्षिक उत्सव, कम्प्युटर मर्मत खर्च हुने गरेको छ ।
लेखा परीक्षण गर्न पनि २५ हजार लाग्ने भएकाले त्यो पनि गर्ने अवस्था नभएको उनले बताए ।

स्थानीय सरकार अन्तर्गत वडा र नगरले समेत पटकपटक सहयोग गर्दै आएको स्वयम् प्रअ न्यौपाने बताउँछन् ।
सात महिनाअघिदेखि तलबबिहिन भएर बसेका शिक्षकहरुलाई ऋण तथा विभिन्न स्रोतबाट समेत तलब दिइसकेको प्रअको भनाई छ ।
कक्षा १० सम्म पठनपाठन रहेको विद्यालयमा ३ सयको हाराहारीमा विद्यार्थीहरु रहेका छन् ।

प्रावि र निमावि शिक्षकद्वारा मावि पठनपाठन गराउनु पर्ने बाध्यता रहेको विद्यालयमा एउटा मावि दरबन्दी रहेको थियो भने भर्खरै एउटा दरबन्दी थपिएको छ ।
अहिले नगरपालिकाले प्राविलाई ३ जना, निमाविलाई ४ जना र माविलाई ५ जना दरबन्दी कायम गरेको छ ।