झापामा समुदायबाट निर्मित पीसीआर परीक्षण ल्यावको काम बुधबारबाट शुरु

  •  
  •  

झापाको कनकाई नगरपालिका ४ कोटीहोममा समुदायबाट निर्मित कोरोना भाइरस परीक्षण आरटि पिसिआर ल्यावको काम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उद्घाटन गरेपछि औपचारिक रुपमा बुधबारबाट शुरु भएको छ। तर परीक्षण भने केही दिन अघिदेखि नै भइरहेको छ।

उक्त प्रयोगशाला बनिसकेर निकै लामो समय प्रयोगमा आएको थिएन।एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट कोटिहोमस्थित समर्पण भवनमा पिसिआर ल्याब बुधबारदेखि सञ्चालनमा आएको हो।

उक्त ल्याब प्रदेश सरकारअन्तर्गत मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी भइरहेको छ भने कर्मचारीको व्यवस्थापन कनकाई नगरपालिका कार्यालयले गरेको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।

ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरेका छन्।

ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरेको थियो।

अहिले मेची अस्पतालमा रहेको ल्याबमा परीक्षण रोकिएको बेला कोटीहोमको ल्याबले काम गरिरहेको छ।

उक्त ल्याबमा राखिएको पिसिआर मेसिन अमेरिकी भएको र जुनसुकै रिएजेन्ट पनि मिल्ने भएकाले सामान नपाएर परीक्षण रोकिने काम नहुने मेची अस्पतालका प्रमुख डा। पिताम्बर ठाकुरले बताए।

अहिले उक्त प्रयोगशालाबाट एक दिनमा ३ सय जनाको कोरोना परीक्षण भइरहेको ल्याबका माइक्रोबायोलोजिष्ट शान्तिराम पोखरेलले जानकारी दिए।